Saturday, December 31, 2016

नारायणघाट–बुटवल चार लेन बन्ने-- दीपेन्द्र विष्ट, काठमाडौं

नारायणघाट–बुटवल चार लेन बन्ने

Sabhar http://kantipur.ekantipur.com/news/2016-12-29/20161229081137.html
पुस १४, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड चार लेन बनाउने तयारी गरेको छ । मन्त्रालयका अनुसार विस्तारसँगै अस्फाल्ट र सर्भिस लेनसमेत निर्माण गरिनेछ । १ सय १५ किलोमिटर लम्बाइको यो खण्डलाई नारायणघाट–दाउन्ने (६५ किमि) र दाउन्ने–बुटवल (५० किमि) गरी दुई प्याकेजमा निर्माण गरिने मन्त्रालयले जनाएको छ । फरक–फरक ठेक्का आह्वान गरी विस्तार कार्य अघि बढाइनेछ । सहरी क्षेत्रमा सडक २७ मिटर फराकिलो हुनेछ भने अन्य क्षेत्रमा २२ मिटर हुनेछ ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का प्रमुख केशवकुमार शर्माका अनुसार सर्भिस लेन करिब ६/६ मिटर फराकिलो हुनेछ । ‘सर्भिस लेनसहित मानिसको बसोबास गरेको क्षेत्रमा ग्रिनरीसहित सडकको चौडाइ २७ मिटर हुनेछ,’ शर्माले भने, ‘अन्य क्षेत्रमा सर्भिस लेनको खास आवश्यकता पर्दैन, चौडाइ पनि कम हुँदा फरक पर्दैन ।’ राजमार्गको २८ किमि सडक छेउछाउमा मानव बस्ती भएकाले ती क्षेत्रमा मात्र ‘सर्भिस लेन’ बनाइनेछ । दुई/दुई लेनको बीच भाग ‘हरियाली’ का लागि छुट्याइनेछ । लेनको बीच भागलाई केही अग्लो बनाई बिरुवा रोपिनेछ । त्यसको चौडाइ तीन मिटर हुनेछ । प्रत्येक लेनको चौडाइ साढे तीन मिटर बनाइनेछ ।
सडकको दुवै छेउतिर साढे दुई मिटरको भागमा पातलो कालोपत्रे गरी आपतकालीन पार्किङका लागि व्यवस्था गरिने निर्देशक शर्माले बताए । त्यसमा गाडी गुडाउन नपाइने भन्दै उनले आपतकालीन गाडी सुरक्षा लागि प्रयोग गरिने बताए । ‘छेउको कालोपत्रे अति संवदेनशील खालको हुन्छ,’ शर्माले भने, ‘गाडीको सुरक्षाका लागि पार्किङ गरिन्छ, गुड्ने बेला आफ्नो लेनमा जान्छन् ।’ एसियाली विकास बैंक (एडीबी) को करिब १९ अर्ब रुपैयाँको ऋण सहयोगमा सडक विस्तार गरिने निर्देशनालयले जनाएको छ ।
टेन्डर आहवान भइसकेको निर्देशक शर्माले जानकारी दिए । चार लेन राजमार्ग नेपालमा पहिलोपटक निर्माण हुन लागेको उनको भनाइ छ । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन तयार भइसकेको भन्दै उनले विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि सकिएको बताए ।
वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ पनि भइरहेको उनले बताए । सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले विस्तारका क्रममा करिब २५ सय रूख काटिने पनि उनले बताए । ‘त्यसबारेमा पनि उच्चस्तरमा वन मन्त्रालय र वन विभागका अधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘सम्भवत: यो पनि चाँडै टुंगो लाग्ला ।’ उनका अनुसार दाउन्ने खण्डको १४ किमि सडक तीन लेनको मात्र हुनेछ । ३ लेनमध्ये उकालोमा २ लेनमा मात्र सवारी आवतजावत गराइनेछ भने एउटा लेनमा मालवाहक गाडी चल्नेछन् ।

No comments:

Post a Comment