Saturday, December 31, 2016

बन्ने भयो नागढुंगा सुरुङ मार्ग

बन्ने भयो नागढुंगा सुरुङ मार्ग   

Sabhar- http://kantipur.ekantipur.com/news/2016-12-22/20161222152838.html
पुस ७, २०७३- जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा यातायात सहजताका लागि सुरुङ (टनेल) मार्ग निर्माण गर्ने पक्का भएको छ । उक्त टनेल निर्माण सम्बन्धी सम्झौता बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न भएपछि जापानले निर्माण गर्ने पक्कापक्की भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त सम्झौताले लामो समयदेखि गफमा मात्रै सिमित रहेको उक्त आयोजना अघि बढ्ने भएको हो । सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले १५ अर्ब ४० करोड ५० लाख रुपैयाँ ऋण उपलब्ध गराउने र त्यसमा अपुग रकम नेपालले थपेर आयोजना सम्पन्न गर्ने योजना छ ।

२ दशमलव ४५ किलोमिटर लम्बाई रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) ले अन्तर्राष्ट्रिय बिडिङमार्फत निर्माण गर्नेछ । उक्त सुरुङ मार्ग नागढुंगाको चेकपोस्ट नजिकको फाँटबाट सिस्ने खोलाको तल्लो भाग निस्कने छ ।
त्यसको लिंक रोड काठमाडौंको सीतापाइलासम्म हुनेछ । परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको भए पनि मुअब्जा दिनेदेखि धेरै कामहरु पहिला सक्नपर्ने हुनाले काम भने सन २०१९ मा आरम्भ हुनेछ ।

अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आयोजना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सोही अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का नेपाल प्रमुख जुन साकुमाले ऋणपत्रमा हस्ताक्षर गरेका हुन् ।

सन् २०१५ मा नै सम्झौता हुने र काम अघि बढ्ने भनिए पनि नाफा र घाटाको विषयमा रस्साकस्सीले दुई वर्ष समयम खेर गएको हो । ढिलै भएपनि पहिलो सुरुङ मार्ग बन्ने निश्चित भएको छ । विद्युत आयोजनाहरुमा टनेल मार्ग हुने भए पनि व्यवसायिक रुपमा रहने सुरुङमार्ग यो नै पहिलो हो । निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
नेपालका लागि जापानी राजदूत ओगावाले सुरुङ परियोजना नेपाल र जापान सम्बन्धको कोसेढुंगाका रुपमा रहने उल्लेख गर्दै नयाँ प्रतीकका रुपमा लिएर यस परियोजनालाई सम्पन्न गरिने बताए । उनले यस परियोजना कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह पनि गरे ।

सम्झौतापछि अर्थ सचिव सुवेदीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा यस आयोजनालाई लिइएको उल्लेख गर्दै नेपालका लागि पहिलो सुरुङ आयोजना निर्माणमा जापान सरकारले सहयोग गरेकोप्रति आभार व्यक्त गरे । सन २०२२ मा सम्पन्न हुने उक्त परियोजनाले राजधानीलाई अन्य जिल्लासँग विशेष गरि भारत तर्फबाट हुने ढुवानीलाई सहजता दिने बताइएको छ ।
उक्त ऋण सहायता सुरुङमार्गको निर्माण कार्य, पहुँच मार्ग, पुल लगायतका अन्य निर्माण कार्य र परामर्श सेवामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसबाट भिरालो तथा घुमाउरो सडकको प्रयोगले हुने खतरा र ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् ।

राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भए ट्राफिक समस्या समाधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने निश्चित छ । काठमाडौं प्रवेश गर्ने सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनाले यात्रु र चालक हैरानीमा पर्ने गरेका छन् । यति ठूलो रकम यस्तो परियोजनामा लगाउने या नलगाउने प्रसंग चल्दै आएको भए पनि यस्ता पूर्वाधार बनाउनै पर्ने निष्कर्षमा सरकार पुगेको हो ।

सुरुङ मार्ग दुई लेनको अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ । सुरुङमा भित्रै पेट्रोलपम्प, खाजा घर, पार्किङ लेन लगायत रहनेछ । फुटपाथ र रिपेयरिङ सेन्टर पनि रहने उक्त मार्ग जापानमा रहेको जस्तै अत्याधुनिक हुनेछ । यो सुरुङ बने थानकोटबाट ५ देखि १० मिनेटमा नौबिसे पुग्न सकिने बताइएको छ । जापान सरकारले यस अलावा सूर्य विनायकदेखि धुलिखेलसम्मको सडक पनि ६ लेनको बनाइदिने र त्यसमा पनि सुरुङ मार्ग तथा फ्लाई ओभर बन्ने विषयमा पनि छलफल भइरहेको अधिकारीहरूले बताएका छन् ।

No comments:

Post a Comment