Wednesday, February 2, 2011

इन्टरनेट टिभी आउनै लाग्यो

विष्णु पोखरेल- टेलिभिजन च्यानल हेर्न तपाईंले पछिल्लो प्रविधि खोजिरहनुभएको छ? यसका लागि नेपालमा भर्खरै सुरु भएको डिटिएच प्रविधिमात्र होइन, त्योभन्दा अझै परिस्कृत प्रविधि पनि भित्रिँदै छ। छिमेकी भारतमा समेत सुरु भइसकेको इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु भएपछि तपाईंले टिभी हेर्न केबुल वा डिटिएचमा मात्र भर पर्नुपर्दैन।

इन्टरनेट पहुँचमा बाँधिने नेपाली बढिरहेका बेला आइपी टिभीले बजार लिने आँकलन गर्दै केही संस्थाले यसका लागि तयारीसमेत गरिसकेका छन्। नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका निजी संस्थामात्र होइन सरकारी स्वामित्वको नेपाल टेलिकमले समेत आइपी टिभी चलाउने तयारी गरिरहेको छ। नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायकमध्येको वर्ल्ड लिंक कम्युनिकेसनले यसका लागि सञ्चार मन्त्रालयमा प्रस्ताव पेस गरेको नौ महिना भइसक्यो। तर, अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन।

'तारवाला र वायरलेस इन्टरनेटबाट आइपी टिभी चलाउन मन्त्रालयमा प्रस्ताव पेस गरेका हौ,' वर्ल्ड लिंकका जनसम्पर्क निर्देशक पवन शाक्यले भने। उनले इन्टरनेटसँग कनेक्सन गरेपछि लाइभ र रेकर्डेड दुवै टेलिभिजन कार्यक्रम हेर्न मिल्ने गरी आइपी टिभी सञ्चालनको अनुमति मागेको जानकारी दिए।

यो टिभी हेर्न टेलिभिजन सेट नभई कम्प्युटर आवश्यक पर्छ। केबुल, रेडियो लिंक, अप्टिकल फाइबरबाट प्रसारण गरिएको टेलिभिजन प्रोग्रामलाई कम्प्युटर सेटमा हेर्न सकिन्छ। वर्ल्ड लिंकले सुरुमा पाँच नेपाली समाचारमूलक टिभी च्यानललाई आइपी टिभीबाट प्रसारण गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ। आइपी टिभी केबुल टिभीजस्तै हो। तर, केबुल टिभीको जस्तो तार नभए पनि रेडियो लिंकबाट हेर्न सकिन्छ।

'यसबाट जति पनि च्यानल प्रसारण गर्न सकिन्छ, अहिले परीक्षणका लागि मात्र पाँचवटा नेपाली च्यानल प्रसारण गर्न खोजेको हौं,' शाक्यले भने। कम्पनीले आन्तरिक प्रयोजनका लागि मन्त्रालयबाट पाएको २.५, ५.१ र ५.२ मेगाहर्ज फ्रिक्वेन्सीबाट आइपी टिभी प्रसारण गर्ने अनुमति मागेको हो।

आइपी टिभीका ग्राहकले एउटै तार वा रेडियो लिंकबाट इन्टरनेट चलाउने र टिभी हेर्न सक्छन्। यसको लागि मासिक शुल्क ५ सय रुपैयाँ प्रस्ताव गरिएको छ। 'यो प्रस्तावमात्र हो, यसलाई मन्त्रालयले चलाउने स्वीकृति दिए शुल्क घटबढ गर्न सकिन्छ,' उनले भने। आइपी टिभी हेर्न ग्राहकले २५६ केबिपिएस वा योभन्दा बढी गतिको इन्टरनेट प्रयोग गर्नुपर्छ। जति धेरै ब्यान्डविथको इन्टरनेट भयो, त्यति धेरै च्यानल हेर्न सकिन्छ।
मन्त्रालयका अधिकारीले वर्ल्ड लिंकबाट आइपी टिभी चलाउन प्रस्ताव आए पनि फ्रिक्वेन्सी व्यवस्थापन समितिले निर्णय नगर्दा अहिलेसम्म अनुमति नपाएको जानकारी दिए। 'आइपी टिभी चलाउन प्रस्ताव आएको हो, तर उनीहरूले मागेको फ्रिक्वेन्सीमा चलाउन मिल्ने नमिल्ने भन्ने समितिले निर्णय गरिसकेको छैन,' मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद गुरागार्इंले भने। फ्रिक्वेन्सीको विषयमा निर्णय गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा रहेको उक्त समितिको स्वीकृति आवश्यक हुन्छ। पहिले नै वर्ल्ड लिंकले प्रयोग गरिरहेको फ्रिक्वेन्सी आन्तरिक प्रयोगको लागि पाएकाले आइपी टिभीलाई दिन नमिल्ने समितिका सदस्यहरूको राय छ। तर, यस विषयमा निर्णय भई नसकेको गुरगाईंले जानकारी दिए।
वर्ल्ड लिंकले भने अहिलेकै फ्रिक्वेन्सी पाउने हो भने बढी राजस्व सरकारलाई तिर्न तयार भएको जनाएको छ। 'मन्त्रालयले अहिले हामीले प्रयोग गरिरहेको फ्रिक्वेन्सी नदिने नै भनेर निर्णय दिइसकेको छैन,' शाक्यले भने, 'तर, यस विषयमा समितिले चाँडै निर्णय गरे सजिलो हुन्थ्यो।' आफूहरूले अनुमति पाए तत्कालै उपकरण किनेर आइपी टिभी सुरु गर्ने उनले बताए। 'भविष्यमा यसको बजार राम्रो हुन्छ,' उनले भने, 'अहिले पनि धेरैको चासो छ।'

सरकारले स्वीकृति दिएमा वर्ल्ड लिंक नेपालको पहिलो आइपी टिभी सेवा सुरु गर्ने कम्पनी बन्ने तयारीमा छ। भारत, पाकिस्तान, श्रीलंकामा पनि केही कम्पनीले आइपी टिभी सुरु गरिसकेका छन्। अमेरिकामा एटिएन्डटी कम्पनीले आइपीमार्फत् १ सय च्यानल ग्राहकलाई दिइरहेको छ। भारतमा केरला भिजनले पहिलोपल्ट चेन्नईमा आइपी टिभी सुरु गरेको हो। कम्प्युटर नभए पनि केही नयाँ मोडलका टेलिभिजन सेटमा आइपी टिभी हेर्न सकिन्छ।
टेलिफोन, इन्टरनेट र आइपी टिभी एकै तारबाट चालाउन मिल्ने प्रविधि विकास गर्ने घोषणा गरेको नेपाल टेलिकमले भने नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) आएपछि मात्र सेवा सुरु गर्ने जनाएको छ। 'एनजिएन नआइ हामी आइपी टिभी सेवामा जाँदैनौं,' टेलिकमका नायबप्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले भने, 'एनजिएन आएपछि आइपी टिभी पनि सुरु हुन्छ।' टेलिकमले एक वर्षअघि आइपी टिभी सञ्चालन गर्ने घोषणा गरेको थियो। तर, एनजिएनको ठेक्का प्रक्रियालाई अख्तियारले रद्द गरेपछि यो सेवा सञ्चालनमा अझै ढिलो हुने भएको छ।

अहिले सञ्चालनमा रहेको एडिएसएल इन्टरनेट सेवामार्फत् आइपी टिभी चलाउन सकिने भए पनि टेलिकमले आफ्नो प्रविधि परिस्कृत नगरी यस्तो टिभी नचलाउने प्रवक्ता सुरेन्द्र थिकेले बताए। 'एनजिएनको एउटा भागका रूपमा आइपी टिभीसमेत आउँछ,' उनले भने।
केबुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुका सञ्चालक सुधीर पराजुली भने अहिले नेपालमा आइपी टिभीको बजार राम्रो भई नसकेको बताउँछन्। 'यो प्रविधि अहिले मह"गो छ,' उनले भने, 'भारतमा समेत दुइटा कम्पनी चल्न नसकेको अवस्था भएकाले यहाँ बजार बलियो भइसकेको छैन।' उनले भविष्यमा आइपी टिभीमा जानुपर्ने भए पनि अहिले नै जानु चाहिँ हतार हुने तर्क गरे।


के हो आइपी टिभी?
इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) भनेको इन्टरनेटको माध्यमबाट चल्ने टेलिभिजन हो। अहिले सञ्चालनमा रहेका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटरमा हेर्न मिल्ने प्रविधिलाई आइपी टिभी भनिन्छ। आइपी टिभीलाई इन्टरनेट, ब्रोडब्यान्ड, रेडियो फ्रिक्वेन्सी, स्याटेलाइट र केबुलका माध्यमबाट चलाउन सकिन्छ।
लाइभ टेलिभिजन, टाइम सिफ्टेड प्रोग्रामिङ र भिडियो डिमान्ड गरी तीन प्रकारका यस्ता प्रसारण चल्तीमा छन्। आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा वा वेबमा आधारित मल्टिमिडिया सर्भिस भन्न सकिन्छ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रशारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ।

सन् २००५ मा एलाइन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। पहिलोपल्ट १९९४ मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु-सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु गरियो। अहिले भने एमपिइजी फोर प्रविधिमा यस्ता टिभी सञ्चालन गरिन्छ। नेपालमा भर्खरै सेवा सुरु गरेका डाइरेक्ट टु होम (डिटिएच) प्रसारण पनि यही प्रविधिमा आधारित छन्।

आइपी टिभीमा प्रसारण भइसकेको टिभी कार्यक्रमलाई रेकर्ड गरेर पनि हेर्न मिल्छ। सीमित च्यानलको मात्र सेवा लिएर चलाउन पनि सकिन्छ। आफूलाई मन पर्ने कार्यक्रम रेकर्डका लागि स्वचालित रूपमा मिलाएर राख्ने र पछि हेर्न सकिने भएकाले यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ। भारतको दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले पनि यस्तो सेवा सुरु गरिसकेको छ।

No comments:

Post a Comment