Wednesday, February 2, 2011

खिल्ली उडाउँदै छन् हिज्जे नमिलेका विज्ञापनले

उपेश महर्जन


काठमाडौँ, माघ १९ गते । त्रिपुरेश्वरस्थित नेपाल टेलिकम भवन अगाडिको सडक भित्तामा तपाइँको आँखा परिहाले तपाइँले एउटा विज्ञापन देख्न सक्नुहुन्छ त्यसमा लेखिएको छ, 'करिब १ करोड ४० लाख नेपालीले आज पनि देशभरि खुला ठाउँमा हगे ।'

त्यसमा प्रयोग भएको शब्दले तपाइँलाई एकछिन चकित बनाउँछ । आम मानिसलाई सूचना र जानकारी दिन राजधानीका सडकपेटी तथा सार्वजनिक स्थलमा राखिने विज्ञापनका शब्द चयन र व्याकरणको सामान्य ख्याल नगर्दा जताततै राखिएका हिज्जे नमिलेका यस्तो सामग्रीले नेपाली भाषा र सम्बन्धित संस्थाको खिल्ली उडाइरहेको देखिन्छ ।

विज्ञापन सामग्री तथा चेतनामूलक सन्देश वा सूचना प्रवाह गर्ने साम्रगीहरू नै गलत र पट्यारलाग्दो भएपछि सम्बन्धित सर्वसाधारणले के बुझ्ने ? राजधानीका सडक र सार्वजनिक स्थलमा हिज्जे नमिलेका विज्ञापन बोर्ड छ्यापछ्याप्ती हुँदा पनि यसको नियमन गर्ने संस्था काठमाडौँ महानगरपालिकाको सूचना तथा अभिलेख विभाग आफू बेखबर रहेको बताउँछ ।

निजी विज्ञापनमा ऐजन्सी हुन् वा सरकारी निकाय सबैले सूचना दिने अभिप्रायले विज्ञापन दिन्छन् तर शब्द चयन, हिज्जे र ब्याकरणको अशुद्धिले गर्दा उनीहरूको कामले आफ्नो उद्देश्यलाई छुनु त परै जाओस् संस्थाप्रतिको आम मानिसको सोच नै नकारात्मक बन्न पुग्छ ।

सरफाइ प्रवर्द्धन गर्ने क्रममा खुला स्थानमा दिसापिसाब नगर्न सचेत पार्ने उद्देश्यले राखिएको सो विज्ञापनले स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव पार्ला तर शब्द 'हगे' ले धेरैलाई अप्ठ्यारोमा पार्छ बालबालिकाले जिज्ञासा राख्दा बुझाउन समस्या पर्छ तर यसतर्फ कसैको ध्यान पुगेको पाइँदैन ।

त्यसैगरी, सहिदगेट क्षेत्रको सडकमा ट्राफिक नियम पालना गराउन केही समय अघिसम्म राखिएको सूचना यस्तो थियो, 'अकस्मात ब्रेक न लगाउनुहोला, पछाडिकोले ठोकिएला ।' 'अकस्मात' शब्दले के भन्न खोजेको हो ? यसले सूचनाको गलत अर्थ दिन्छ र सन्देशलाई अर्थहीन बनाउँछ । सडक विस्तार गर्ने क्रममा दुई सडकलाई छुट्याउन बीचमा राखिएको आइल्याण्ड भत्काउने क्रममा अहिले सो बोर्ड हटाइएको छ । त्यसलाई फेरि अन्यत्र राख्दा भने सम्बन्धित पक्षले शुद्धाशुद्धिमा पनि ध्यान देला ।

त्यस्तै, सोही क्षेत्रमा रहेको अर्को एउटा विज्ञापन बोर्डमा 'कर तिरौँ सम्मानपूर्वक बाँचौँ ।' लेखिएको थियो । सम्मानपूर्वक हुनुपर्नेमा आकार छुटेको थियो । अर्को 'सडकपेटीमा जथाभावी पाल्तु जनावर न छाडांैँ ।' भन्ने बोर्ड थियो त्यसमा न र छाडौँ आपसमा नजोड्दा अर्थ फरक परेको छ यी विज्ञापनहरू ट्राफिक नियम पालना गर्नुपर्ने सवारी चालक र स्थानीयवासीलाई लक्ष्यित गरी राखिएका हुन् तर के यस्ता वाक्यको प्रयोगले ठीक ढङ्गले सूचना सम्प्रेषण होला ?

यी त सामान्य उदाहरण हुन् काठमाडौँ उपत्यकामा यस्ता गलत अर्थ दिने खालका थुप्रै विज्ञापन जताततै देखिन्छन् ।

काठमाडांैँ महानगरपालिकाको सूचना तथा अभिलेख विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले यो विषयमा अहिलेसम्म आधिकारिक रूपमा आफ्नो संस्थालाई थाहा नभएको बताउँदै यस्तो हुनुमा आफ्नो विभागको कमजोरी भएको स्वीकार गर्नुभयो ।

No comments:

Post a Comment