Sunday, April 8, 2018

रक्सौल–काठमाडौं विद्युतीय रेल निर्माण सहमति

http://www.enayapatrika.com/2018/04/08/38517/

रक्सौल–काठमाडौं विद्युतीय रेल निर्माण सहमति

जीवन बस्नेत/ नयाँ पत्रिका काठमाडौं, २५ चैत | २२ घन्टा अगाडि
एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने
नेपाल र भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएको छ । दुई देशका जनताबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने र आर्थिक वृद्धि तथा विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुई देशका प्रधानमन्त्रीबीच नयाँ विद्युतीय रेलमार्ग निर्माणका लागि सहमति भएको हो । उक्त रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिनेछ ।
रेलमार्गले दुई देशबीचको सीमा क्षेत्रमा रहेको रक्सौलदेखि राजधानी काठमाडौं जोड्नेछ । अहिलेसम्म सर्वेक्षण नभएको भए पनि रक्सौलदेखि काठमाडौं दूरी १ सय १० देखि १ सय २० किलोमिटर लामो हुने अनुमान छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि कोरियन कम्पनीसमेत छनोट गरिसकेको छ । ‘सम्भाव्यता अध्ययनका लागि ५ करोड ५० लाख रुपैयाँ लगानी गरिँदै छ,’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने ।
उक्त रेलमार्ग निर्माणलाई अघि बढाउनका लागि पहिलो पाइलास्वरूप भारत सरकारले १ वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गर्नेछ । उक्त कार्य नेपाल सरकारको परामर्शमा गरिनेछ । त्यसलगत्तै दुई पक्षबीच लगानीको ‘मोडालिटी’ र कार्यान्वयनलाई अन्तिम रूप दिइनेछ । उक्त कार्य आयोजनाको तयारी विस्तृत आयोजना प्रतिवेदनमा आधारित भएर गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रेलमार्ग निर्माण तयारी कार्य छिटो सम्पन्न गर्नका लागि पूर्ण रूपले सहयोग गर्ने भारतीय पक्षलाई आश्वस्त बनाएका छन् ।

नेपालले सहमति जनाएको छ । भारतले एक वर्षमा सर्भे सम्पन्न गर्ने र लगत्तै कार्यान्वयनमा जाने वचन दिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार पाँच वर्षमा यो निर्माण गर्ने सहमति भएको छ । यसको लगानी र अन्य मोडालिटीबारे भविष्यमा छलफल गर्ने पनि सहमति भएको छ ।
अन्तरदेशीय रेलमार्ग २०१८ भित्र सम्पन्न
नेपाल–भारत जोड्ने २ अन्तरदेशीय रेलमार्ग निर्माण २०१८ भित्रै सम्पन्न गरिने भएको छ । सन् २०१० मा सम्झौता भएका ५ वटा अन्तरदेशीय रेलमार्ग निर्माणमध्ये जयनगरदेखि–जनकपुर–कुर्था र जोगबनीदेखि विराटनगर भन्सार कार्यालयसम्म जोड्ने रेलमार्गलाई सन् २०१८ भित्र सम्पन्न गर्ने प्रतिबद्धता दुवै देशले गरेका छन् ।
दुवै पहिलो चरणमा निर्माण थालिएका रेलमार्ग हुन् । दुवै देशका प्रधानमन्त्रीले अहिलेसम्म भएको प्रगतिलाई उल्लेखनीय बताएका छन् । साथै, जयनगर–बिजलापुरा–बर्दिबास र जोगवनी–विराटनगर रेलमार्गअन्तर्गत निर्माण बाँकी रहेको कार्यलाई उच्च प्राथमिकता दिने भएका छन् । नेपालले उक्त रेलमार्ग निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि अन्य समस्या समाधानका लागि गरेको प्रतिबद्धतामा भारतले खुसी व्यक्त गरेको छ ।
 संयुक्त कार्यदलको बैठक नियमित
नेपाल–भारत संयुक्त कार्यदलको बैठक नियमित राख्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ । कार्यदल बैठकले रेलमार्ग निर्माण तथा अन्तरदेशीय रेल सञ्चालनमा देखिन सक्ने–देखिएका समस्या समाधान गर्नेछ । अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक विषयहरूको पहिचान गर्ने कामसमेत कार्यदलले गर्नेछ । त्यस्तै, दुई देशीय रेल सञ्चालनका लागि मापदण्डसमेत छिटोभन्दा छिटो टुंगो लगाउनेछन् ।
तीन अन्तरदेशीय रेलमार्ग निर्माण प्राथमिकतामा
सन् २०१० मै रेलमार्ग निर्माणका लागि भएको समझदारीअनुसार दोस्रो चरणमा निर्माण थालनी गर्ने भनिएका नेपाल–भारत जोड्ने थप तीनवटा अन्तरदेशीय रेलमार्ग निर्माणको कामलाई अघि बढाइने भएको छ । ती रेलमार्गहरूमा न्यू जलपाइगुडीदेखि काँकडभिट्टा, नउतन्वादेखि भैरहवा र नेपालगन्ज रोड–नेपालगन्ज रहेका छन् । अहिले तीनवटै अन्तरदेशीय रेलमार्गको ‘लोकेश’ सर्वेक्षण भइरहेको छ । सर्वेक्षण कार्यलाई चाँडै सम्पन्न गर्नेमा सहमत भएका छन् ।

No comments:

Post a Comment