Monday, January 22, 2018

मेट्रो र मोनोरेल होइन, एउटै इञ्जिनमा ४/५ वटा बस

https://www.onlinekhabar.com/2018/01/654078

मेट्रो र मोनोरेल होइन, एउटै इञ्जिनमा ४/५ वटा बस

जाइकाले ल्यायो अत्याधुनिक प्रणाली एजीटीको प्रस्ताव

रविन्द्र घिमिरे



८ माघ, काठमाडौं । उपत्यकामा बढ्दो ट्राफिक जामको विकल्पमा सार्वजनिक यातायातका धेरै अध्ययन प्रतिवेदन, खाका र प्रस्ताव तयार भएका छन् । त्यसैको पछिल्लो श्रृंखलाका रुपमा जापानी सहयोग नियोग  (जाइका)ले अगाडि सारेको छ, अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) प्रणालीको अवधारणा ।
स्वचालित यातायात प्रणाली हो, एजीटी । मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली काठमाडौंजस्तो भूगोलमा उपयुक्त हुने जाइकाको सुझाव छ ।
जापानलगायत विकसित मुलुकमा चर्चित यातायात प्रणाली हो यो । एउटै शक्तिशाली इन्जिनयुक्त गाडीमा रेलका जस्तै डिब्बाहरु जोडेर चलाउन सकिने अवधारणामा आधारित छ, यो प्रणाली । तर, त्यसका लागि रेलको लिकजस्तै गुड्न गाइड गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ ।
जापानले तयार पारेको ‘काठमाडौं उपत्यका यातायात गुरुयोजना’मा त्यस्तो प्रणाली तत्कालै कार्यान्यवन गर्न सकिने उल्लेख छ । र, जापानले त्यसका लागि औपचारिक प्रस्ताव नै अगाडि सारेको छ ।

चार वटा रुटमा एजीटी प्रणाली तत्काल कार्यान्वयन गर्न सकिने जाइकाको गुरुयोजनामा उल्लेख छ । तीमध्ये दुई वटा रुटमा ‘पाइलट प्रोजेक्ट’ अगाडि बढाउन सकिने गरी प्रस्ताव आएको यातायात मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
केही समयअघि अनलाइनखबरसँगको अन्तरवार्तामा जाइकाका नेपाल प्रमुख जुन सुकामाले सरकारलाई काठमाडौंको यातायात प्रणालीमा सुधार गर्न एजीटी सञ्चालन गर्न सुझाव दिएको बताएका थिए ।
कलंकी-बानेश्वर-तीनकुने र जावलाखेल-महाराजगञ्ज रुटमा त्यसको सम्भाव्यता अध्ययन गर्न सकिने जापानी प्रस्ताव छ ।
चक्रपथलाई समेटेर तथा चक्रपथभित्र अर्को एउटा रुटमा एजीटी सञ्चालन गरिने गुरुयोजनामा उल्लेख छ ।
उक्त प्रणालीका लागि सडकमा ‘डेडिकेटेड लाइन’ तोक्नुपर्छ । त्यसमै बनाइने हो, पूर्वाधार ।
यो प्रणालीका सवारी साधनमा चालक आवश्यक पर्दैन, स्वचालित प्रविधि हो र अत्याधुनिक पनि ।
‘काठमाडौंमा सार्वजनिक सवारी साधन धेरै भए । समथर क्षेत्रको सडकमा यति धेरै गाडी चाहिँदैन,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘एउटा बलियो इन्जिनको गाडी भए ४-५ वटा बस आफैं तान्छ र इन्धन पनि कम खपत हुन्छ ।’
मोनोरेलभन्दा यो प्रविधि सजिलो र प्रभावकारी हुने जाइकाका एक उच्च अधिकारी बताउँछन् । भन्छन्, ‘सरकार तीव्र रुपमा काम गर्ने इच्छासहित आएमा हामी सघाउन तयार छौं ।’ तर, त्यसका लागि रेल विभागजस्तै अलग्गै संरचना आवश्यक हुने उनले औंल्याए ।
उक्त विषयमा जाइकासँग प्रारम्भिक छलफल मात्र भएकाले अहिले नै एजीटीबारे बोल्ने समय नआएको मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख केशवकुमार शर्मा बताउँछन् । भन्छन्, ‘सम्भाव्यता अध्ययन नगरी हचुवाका भरमा योजना घोषणा गर्ने पक्षमा हामी छैनौं ।’
के हो एजीटी ?
अटोमेटेड गाइडवे ट्रान्जिटमा चालकको आवश्यकता पर्दैन, तर गाडीहरूलाई एउटा निर्दिष्ट बाटोमा गुडाउनका लागि छुट्टै लेन भने आवश्यक पर्दछ ।
यस्ता लेनले सडकका रूपमा ती सवारीलाई आधार मात्र नभई स्पष्ट दिशा र निर्देशन पनि प्रदान गर्दछन् ।
यसमा प्रयोग हुने सवारीहरूमा प्रायजसो रबरको टायर प्रयोग गरिन्छ । साधारणतः कुनै दोबाटो नभएका बाटामा यसको प्रयोग सहज हुने भए पनि धेरै ओटा बाटाहरू जोडिने अवस्थामा समेत सानासाना पाङ्ग्राहरू राखेर मोडिने प्रणाली विकास गर्न सकिन्छ ।
कहाँ-कहाँ सञ्चालित छन् ?
विमानस्थलभित्रै यात्रु ओसार्नेदेखि मास ट्रन्जिटका लागि समेत फरक-फरक तह र संरचनाको यसको उपयोग भइरहेको छ ।
साना तहमा विश्वका धेरै विमानस्थलहरू अम्युजमेन्ट पार्कहरूमा यस प्रणालीको प्रयोग भएको छ ।
क्यानाडाको टोरन्टो र भ्यान्कुभर, अमेरिकाको लस भेगास तथा बेलायतको लन्डन लगायतका सहरमा यस प्रविधिमा आधारित ठूला स्तरका सार्वजनिक यातायात प्रणाली सञ्चालनमा छन् ।
कस्तो हुन्छ एजीटी भिडियो पनि हेर्नुहोस्
<span data-mce-type="bookmark" style="display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;" class="mce_SELRES_start"></span>
२०७४ माघ ८ गते २०:४५ मा प्रकाशित

No comments:

Post a Comment