Monday, January 15, 2018

केराबाट वर्षमा १ करोडभन्दा बढी आम्दानी

http://www.enayapatrika.com/2018/01/16/15456/

केराबाट वर्षमा १ करोडभन्दा बढी आम्दानी

मनीष खड्का/नयाँ पत्रिका रुकुम (पश्चिम), २ माघ | ०१ मिनेट अगाडि
आर्थिक वर्ष ०७३/७४ मा २ सय ६५ मेट्रिकटन केरा उत्पादन
थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले केरा खेतीबाटै वर्षमा १ करोडभन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कृषकले केरा खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका कारण जिल्लामा बर्सेनि केराको उत्पादन र आम्दानी बढ्दै गइरहेको कार्यालयका प्राविधिक सहायक मीनबहादुर केसीले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७३/७४ मा २ सय ६५ मेट्रिकटन केरा उत्पादन भएको थियो । त्यसबाट कृषकले १ करोड ३२ लाख ५० हजार आम्दानी गरेका थिए ।
यो सोही अवधिको अघिल्लो आर्थिक वर्ष ०७२/७३ भन्दा ५ मेट्रिकटन बढी हो । सो वर्ष जिल्लामा २ सय ६० मेट्रिकटन केरा उत्पादन भएर स्थानीय कृषकले १ करोड ३० लाख आम्दानी गरेका थियो । जिल्लामा केराका लागि उपयुक्त हावापानी रहेकाले कृषक आकर्षित भएको केसीले बताए ।

केराको बिरुवामा ५० प्रतिशत अनुदान
केही वर्षअघिसम्म करेसाबारीमा मात्र केरा लगाउने कृषकले पछिल्लो समय व्यावसायिक केरा खेती गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । २–३ वर्षदेखि जिल्लामा कृषकहरूले व्यावसायिक रूपमा केरा खेती गर्ने क्रम बढेको हो ।
अहिले जिल्लामा ३५ हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको कार्यालयका प्राविधिक सहायक केसीले जानकारी दिए । उनका अनुसार ५ सयभन्दा बढी कृषकले व्यावसायिक केरा खेती गरिरहेका छन् ।जिल्ला कृषि विकास कार्यालयले विगत ३ वर्षदेखि केरा खेती गर्न चाहने कृषकहरूलाई केराको बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
‘कृषकबाट माग हुन थालेपछि विगत ३ वर्षदेखि केराको बिरुवा वितरण गर्दै आएका छौँ,’ उनले भने, ‘अहिलेसम्म २० हजारभन्दा बढी केराको बिरुवा वितरण गरेका छौँ ।’ सुरुका वर्षमा टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका विलियम हाइब्रिड र जी–९ जातको केराको बिरुवा नेपालगन्जबाट ल्याइएको थियो ।
अहिले भने झापाली मालभोग जातको केराको बिरुवा वितरण भइरहेको उनले बताए । विलियम हाइब्रिड र जी–९ जातको केरा जिल्लाका सबै ठाउँमा उत्पादन नहुने भएपछि हाल नवलपरासीबाट झापाली मालभोग जातको केराको बिरुवा जिल्लामा ल्याइएको हो । जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलाई बिरुवामा ५० प्रतिशत र ढुवानीमा शतप्रतिशत अनुदान दिइरहेको छ ।
धान खेतमै केरा खेती
हाल जिल्लाका सबै ठाउँमा केरा खेती हुने गरेको छ । त्यसमा पनि बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकामा बढी खेती हुने गरेको छ । पाखोबारीमा मात्र नभएर कृषकहरूले धान फल्ने खेतमा पनि केरा खेती गरिरहेको प्राविधिक सहायक केसीले बताए ।
स्थानीय माग धान्दैन
जिल्लामा उत्पादन हुने सबै केरा स्थानीय बजारमै खपत हुने गरेको छ । उत्पादन हुने केराले जिल्लाको मागलाई धान्न नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बर्सेनि केरा उत्पादन बढिरहे पनि त्यो जिल्लाको मागअनुसार पर्याप्त नभएको कार्यालयको भनाइ छ ।
यही अनुपातमा केराको उत्पादन वृद्धि हुने हो भने ३–४ वर्षमा जिल्लामै उत्पादन हुने केराले जिल्लाको मागलाई धान्ने कार्यालयले बताएको छ । अब जिल्ला कृषि विकास कार्यालयमा चालू आर्थिक वर्षपछि कुनै कार्यक्रम नरहने भएकाले यसमा स्थानीय तहले ध्यान दिनुपर्ने प्राविधिक सहयाक केसी बताउँछन् ।
‘यस आर्थिक वर्षसम्म मात्र जिल्ला कृषि विकास कार्यालय रहने भनिएको छ,’ उनले भने, ‘अब स्थानीय तहले विशेष योजना बनाएर अगाडि बढ्न जरुरी छ ।’

No comments:

Post a Comment