Tuesday, April 12, 2011

अखिलका नेता दायाबायाँ राखेर अदालत गए चक्रे

05/04/2011 18:22:00 नवराज मैनाली/नयाँ पत्रिका
काठमडौं, २२ चैत
केन्द्रीय कारागारमा रहेका 'डन' चक्रे मिलन -मिलन गुरुङ) एमालेनिकट अनेरास्ववियुका केन्द्रीय नेताहरूसाथ अदालतमा उपस्थित भएका छन् । चक्रे मंगलबार काठमाडौं जिल्ला अदालत पुग्दा अनेरास्ववियुका सचिवालय सदस्य ऐन महर, केन्द्रीय सदस्य समिक बडाललगायत आधा दर्जन विद्यार्थी नेताहरू साथमा थिए ।
गत ९ फागुनमा वसुन्धरास्थित हेबिटेन्ट हाउजिङमा कार्यरत चालक युवराज सिलवाल र डोजर जलाएको घटनामा चक्रेलाई काठमाडौं जिल्ला अदालतले झिकाएको थियो । मागेजति पैसा नदिएपछि हाउजिङ निर्माणमा संलग्न डोजरलाई चालकसहित उनका सहयोगीहरूले जलाएका थिए । तर, प्रहरीले उद्धार गरेपछि चालक सिलवाल बाँच्न सफल भएका थिए ।
चक्रेकै निर्देशनमा आक्रमण भएको अभियोगमा प्रहरीले उनलाई समेत विपक्षी बनाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको थियो । यही मुद्दामा बयान दिन मंगलबार दिउँसो करिब ३ बजे चक्रे अदालतमा पुग्दा अनेरास्ववियुका नेता तथा उनका सहयोगीले हात मिलाएर अभिवादन गरेका थिए ।
बयान सिद्धिएपछि पनि उनले ती अखिल नेताहरूसँग अदालत परिसरबाहिरको सडकमा गोप्य गफ गरेका थिए । उनलाई जिल्ला अदालत लिएर गएका केन्द्रीय कारागार प्रहरी निरीक्षक रविराज थपलियालगायत एक दर्जन प्रहरी उनीहरूको कुरा नसकुनञ्जेल पर्खेर बसेका थिए । कुराकानी सकिएपछि भोलि सोही समयमा अदालतमा भेट्ने भन्दै चक्रे अखिल नेता र आफ्ना वकिलसँग हात मिलाएर बिदा भएका थिए ।
अखिल नेता महरले भने चक्रे गोलघरबाहिर रहँदा भेटघाट हुने गरेको, तर मंगलबार भने अदालतमा नभेटेको दाबी गरे । चक्रेसँग आफ्नो राम्रो सम्बन्ध भएकाले बेलाबेलामा भेटघाट हुने गरेको उनको भनाइ छ ।
प्रहरी निरीक्षक थपलियाले भने मंगलबार पनि चक्रेले अखिल नेतासँग कुरा गरेको स्वीकारे । अखिलका दुई नेता बयानका क्रममा साक्षी बसेकाले उनीहरूले कुरा गरेको उनको भनाइ छ ।
'जेलभित्रैबाट अपराध गरेको अभियोगमा गोलघरमा राखिएका व्यक्तिसँग अदालतमै विद्यार्थी संगठनका नेताले भेट्नुको पछाडि ठूलै अर्थ छ,' एक प्रहरीले भने । तर, चक्रेले जेलप्रशासनको मिलेमतोमा जेलभित्रबाटै धम्काएर बाहिर पैसा असुली गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
स्रोतका अनुसार चक्रे गोलघरभित्र परेपछि सहयोगीहरूसँग उनको भेटघाट निकै कम भएको थियो । गोलघरभित्र रहेका व्यक्तिलाई वकिल र नजिकका आफन्तबाहेक अरूलाई भेट्न दिइँदैन । त्यसैले अखिल नेताहरूले उनलाई अदालतमै भेटेका हुन् । लागूऔषध तथा हातहतियार तथा खरखजाना मुद्दामा चक्रे पुर्पक्षमा जेलमा परेका हुन् । उनको पुरानै मुद्दाको फैसला भइसकेको छैन ।
अदालतको बयानमा भने चक्रेले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । १० फागुनमा उनकै समूहले सोही हाउजिङका एक लगानीकर्ता संजीव वलीमाथि खुकुरी हानेका थिए । सो घटनामा पनि उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दामा विपक्षी बनाइएको छ । खुकुरी काण्डमा बयान दिन उनलाई बुधबार जिल्ला अदालत बोलाइएको छ ।

No comments:

Post a Comment