Thursday, December 24, 2009

नेपालमा किवीको व्यावसायिक खेती

काठमाडौं/ अमेरिका र युरोपतिर सबैभन्दा राम्रो र महँगो मानिने किवी फल नेपालको माटोमा उपयुक्त भएको थाहा भएपछि व्यावसायिक खेतीमा रूपान्तरण गर्ने प्रयास थालिएको छ । किसानमाझ किवीबारे अझै पूर्णजानकारी हुन नसके पनि फललाई केही व्यक्तिले भने पहिचान गरी लाखौँ आम्दानी थालिसकेका छन् ।
काभ्रेको बनेपाका खेलकृष्ण थापाले यसको बेर्ना र फल नै उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् । दोलखाको भीमसेनस्थान नगरपालिका-१० का नवराज खड्काले २०४६ तिर एक स्विस नागरिकले आगनको डिलैमा ल्याएर रोपिदिएको अनौठो बोटबाट वर्षको १८/२० हजार आम्दानी होला भन्ने कहिल्यै सोचेका थिएनन् । तर, २०५२ यता उनले सोही बोटबाट वर्षको झन्डै २० हजार आम्दानी लिइरहेका छन् ।
'सुरुका २ वर्षसम्म फलेर त्यत्तिकै खेर गयो,' उनले भने, 'पछि खान हुने फल रहेछ भन्ने थाहा पाएपछि केही वर्ष आफैँले मात्र खायौँ' । केही वर्ष गाउभरि बाँडेर सकेको फल राजधानीका तारेहोटलले ३ सय रुपैयाँ प्रतिकेजी किन्ने चाल पाएपछि भने उनले वाषिर्क रूपमा पकेट खर्च निकाल्न थालेका छन् । खड्काको बारीमा विदेशीले रोपेको अचम्मको फल अरू केही नभएर किवी फल भएको थाहा पाएपछि उनले हाल नियमित राजधानीको हिमालय होटलमा ल्याएर फल बेचिरहेका छन् । मंसिर/पुस महिनातिर पाक्ने किवी फल चिन्नेहरूले महँगोमा खरिद गरेर खाने गरेका छन् ।
किसानमाझ खासै जानकारी नभएको किवीको व्यावसायिक खेती गरी निर्यातको समेत सम्भावना देखिएपछि सरकारी स्तरबाट पनि व्यावसायिकीकरणको प्रयास थालिने भएको छ । अहिले फलफूल विकास निर्देशनालय, कीर्तिपुरको अनुसन्धान केन्द्र तथा कृषि अनुसन्धान परिषद्का अनुसन्धान केन्द्रमा सीमित यसको खेतीलाई व्यावसायिकीकरण गर्न सरकारी तथा गैरसरकारी संस्था एकजुट हुन थालेका छन् । सरकारी र गैरसरकारी संस्थाहरूको सक्रियतामा गुल्मी, इलाम, दोलखा, मकवानपुर, काभे्रलगायतका जिल्लाका केही स्थानमा यसको व्यावसायिक खेती सुरु गर्न लागिएको छ ।
किसानलाई सक्रिय बनाएर गर्न लागिएको किवी फल खेती व्यावसायिक बनाउन सरकारी क्ष्ाेत्रले पनि विशेष पहल गर्ने आश्वासन दिएपछि किसान पनि उत्साहित भएका छन् । 'सरकारी क्षेत्रले पहिले चासो नदिए पनि अहिले चासो दिएको केही उत्साहित छौँ,' खड्काले भने । उनले किवीलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न लागेको बताए । कृषि क्षेत्रको विकास र बढ्दो व्यापार घाटा कम गर्न किवीको व्यावसायिक उत्पादन सहायक हुने चाल पाएपछि राष्ट्रिय योजना आयोगले पनि चासो देखाएको छ ।
आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले हालै पालुङ, बज्रबाराहीलगायतका क्ष्ाेत्रमा लगाइएको किवीको अवलोकन गरेपछि व्यावसायिकीकरण गर्न पहल गर्ने आश्वासन बाँडेका छन् । 'किवी खेती गर्नलाई अब पकेटक्षेत्र घोषणा गरेर अघि बढ्नुपर्ने भइसकेको छ,' खतिवडाले भने, 'आयोगले यसका लागि पहल गर्नेछ ।' उनले सरकारले अन्य बालीका लागि पकेटक्षेत्र घोषणा गर्ने सरकारले निर्यात व्यापार बढाउन सक्ने किवीलाई पनि पकेटक्षेत्रमा सामेल गर्नुपर्ने बताए । उनले मुलुकका विभिन्न क्ष्ाेत्रबाट आएका कृषक र व्यवसायीसँग किवी फलको विषयमा छलफल गरेको बताउँदै भने, 'मैले पनि पहिले बुझेको थिइनँ, यो आर्थिक विकासका लागि नेपालजस्तो मुलुकलाई फलदायी रहेछ ।'
वन विभागका पूर्वमहानिर्देशक डा. सनत ढुंगेल नेपाली कृषकले किवीको उत्पादन गरे बजार समस्या नरहेको बताउँछन् । न्युजिल्यान्डमा बसेर किवी खेती र यसको बजार प्रवर्द्धनलाई हेरेका उनले नेपालीले किवी खेतीबाट राम्रो आम्दानी गर्न सक्ने बताए । 'यहाँ किवी उत्पादन हुने हो भने हामी जहाँ पनि निर्यात गर्न सक्छौँ,' उनले भने, 'सबैभन्दा राम्रो बजार त जापान र अमेरिका नै हुन् ।'
फलफूल विकास निर्देशनालय, कीर्तिपुरका वरिष्ठ फलफूल विकास अधिकृत देवेन्द्र सराफ नेपाली किसानलाई किवीबारे बुझाउन बाँकी रहेकाले यसको उपयोगिताको विषयमा जानकारी दिएर राम्रो आम्दानी गर्न सकिने बताउँछन् । 'हामीले गैरसरकारी संस्थासँग पनि समन्वय गरेर यसको विकास गर्न लागेका छौँ,' उनले भने । नेपालमा हाल उत्पादन भएको किवीको खासै व्यावसायिक मूल्य नदेखिएको बताउँदै उनले भने, 'अहिले परीक्षणकै अवस्थामा छ यसलाई व्यावसायिक बनाउनुपर्छ ।'के हो किवी ?
दक्षिणी चीन, भारत र जापानमा सुरुमा पत्ता लगाएको किवी फललाई मुख्यतः न्युजिल्यान्डले परिचित गराएको हो । संसारकै महँगो र विलासी फलमध्येमा पर्ने किवी फललाई बेरी प्रजातिभित्रै राखिएको छ । सुरुमा चियक्टिनिडिया भन्ने जातको किवी फल दक्षिण चीनबाट पत्ता लागेपछि यसले व्यावसायिक रूप लिएको बताइन्छ । अहिले इटाली, चीन र न्युजिल्यान्डमा मुख्य खेती गरिने यसको नाम न्युजिल्यान्डले चर्चित चरा किवीका आधारमा राखिएको हो । किवीलाई न्युजिल्यान्डको राष्ट्रिय फलसमेत मान्ने गरिएको छ ।
न्युजिल्यान्डले १९५० देखि अमेरिकामा किवी फल निर्यात थालेको थियो । यसको खेती विस्तार हुँदै चीन, भारत, जापान र साइबेरिया पुगेको छ । तर, मुख्य निर्यातकर्तामा इटाली र न्युजिल्यान्ड नै रहने गरेका छन् । भाले र पोथी दुईखालको लहराजस्तै हुने किवीलाई फलाउन दुवै बोट रोप्नुपर्ने हुन्छ । बीउबाट बेर्ना उमार्ने र कलमी गर्ने पनि सकिने यसलाई कलमी गरेमा छिटो उत्पादन लिन सकिन्छ । नेपाली बजारमा पनि हाल ३ सय रुपैयाँ केजी बिक्री हुने यो फल न्युजिल्यान्डले वाषिर्क १ अर्बबराबर निर्यात गर्ने गरेको छ । किवी निर्यात धेरै गर्ने भएकाले पनि न्युजिल्यान्डलाई किवीको देश भन्ने गरिएको छ ।
२ हजार फिटदेखि ६ हजार फिटसम्मको उचाइमा खेती गर्न सकिने किवीले साढे ४ डिग्री सेल्सियसभन्दा कम चिसो सहन नसक्ने कृषि वैज्ञानिक बताउँछन् । यसका लागि वाषिर्क ५१ देखि ६४ इन्च वषर्ा आवश्यक हुन्छ । नेपालको वातावरणमा 'ओमेगा थ्री' जातको किवी खेतीबाट बढी फाइदा लिन सकिन्छ । अक्टोबर, डिसेम्बरमा पाक्ने यो फल लगाएको रोपेको ४ वर्षमा प्रतिहेक्टर १५ दशमलब ७ मेटि्रकटन र ८ वर्षमा २० मेटि्रकटन प्रतिहेक्टर उत्पादन लिन सकिन्छ ।
1 Hectare =107,639.10 Square Feet=29.53 Kaththa= nearly Nepali 1.5 Bigha(taraiko) 17,000Kg /30=566KG /Katha *150Rs/KG thok=84,000/katha


No comments:

Post a Comment