Thursday, September 22, 2016

राउटरको सेक्युरिटी वाईफाई पासवर्डका

त्यसका लागि तपाईंले ब्राउजरको एड्रेस बारमा “१९२.१६८.१.१” टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईं युजर नेम र पासवर्ड हानेर आफ्नो एड्मिन पेजमा जानुस् । त्यहाँ तपाईंको 'डिएचसिपी क्लाइन्ट लिस्ट' लेखिएको देख्न सकिन्छ । 
त्यहाँनिर तपाईंको वाईफाईबाट जति पनि डिभाइस कनेक्ट भएका छन्, ती सबै डिभाइसको अलग अलग युनिक नाम (आएएमइआइ र म्याक एड्रेस) देखाइदिन्छ ।
हरेक डिभाइस अलग नाम र नम्बर हुने भएकाले त्यसलाई तपाईं‌ले चिन्नलाई कुनै गाह्रो हुँदैन । सबै डिभाइसको विवरण पत्ता लागेपछि आफ्नो राउटरको डिफल्ट लग इन र पासवर्डलाई तत्कालै परिवर्तन गरिदिनुस् । 
यही पासवर्डका कारण तपाईं‌को इन्टरनेट अरुले प्रयोग गर्ने भएकाले सबैभन्दा पहिले पासवर्ड बदल्नु जरुरी हुन्छ । 
पासवर्ड बदलेपछि सबै डिभाइसमा नयाँ पासवर्ड हाल्नुपर्ने हुन्छ । पासवर्डसँग राउटरको नाम पनि बदल्नु भयो भने छिमेकीहरुलाई तपाईंको राउटर चिन्न पनि गाह्रो हुन्छ । 
वायरलेस सेटिङ्ग मेनुमा सर्भिस सेट आइडेन्टिफायर अर्थात एसएसआईडी देखिन्छ जसबाट राउटरको नाम फेर्न सकिन्छ । 
राउटरको सेक्युरिटी सेटिङ्गमा WPA2 छान्नुस् किन कि यसका एन्क्रिप्सन सबै मजबुत छ । सन् २००६ यता बनेका सबै राउटरमा यो फिचर राखिएको छ ।

आईपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ

काठमाडौं : वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट  प्रोटोकल (आईपी) टिभी सेवा सुरु गरेको छ । आईपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ ।
एउटा सेटअप बक्स लिएपछि ग्राहकले इन्टरनेटको माध्यमबाट टिभी हेर्न सक्छन् । आईपी टिभी हेर्न छुट्टै ब्याण्डविथ जरुरी हुँदैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च गुणस्तरको हाई डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् ।
ग्राहकले इन्टरनेट सर्भिसकोे शुल्कबाहेक केबल/डीटीएच टिभीलाई तिरे जतिकै अतिरिक्त शुल्कमा आईपी टिभी उपलब्ध गराउने वल्र्डलिंंक कम्युनिकेसन्सका कार्यकारी निर्देशक दिलीप अग्रवालले बताए ।
कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी क्यान कमटेकमा २ हजार रुपैयाँमा सेटअप बक्स उपलब्ध गराउँछ । ग्राहकले हरेक महिना ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ  ।

क्लासिक टेकको एफटीएच तेस्रो वर्षमा

काठमाडौं : सात वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाइबर टु द होम सेवा बजारमा ल्याएको झन्डै २ वर्ष भएको छ ।
उच्च गतिको इन्टरनेट साथै भिडियो, भ्वाइसको सेवा पनि यही माध्यमबाट दिन सकिने भएकाले यसलाई भविष्यको प्रविधि भनिएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत यो सेवा विराटनगर, बनेपा, वीरगन्ज, धरान, हेटौंडा, चितवन, इटहरी, भैरहवा र बुटवलमा पनि उपलब्ध छ ।
ग्राहकहरूलाई उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा सस्तो मूल्यमा उपभोग गराउने उद्देश्यले १ एमबीपीएस अनलिमिटेड इन्टरनेट वार्षिक ग्राहकका लागि मात्र १२ सय ९९ रुपैयाँप्रति महिना उपलब्ध गराएको छ ।
साथै ३ एमबीपीएस अनलिमिटेड इन्टरनेट १५ सय प्रतिमहिना र १५ एमबीपीएस लिमिटेड, १६० जीबी डाटा उपलब्ध हुने इन्टरनेट सेवा १४ सय रुपैयाँ प्रतिमहिना रहेको छ ।
यो अफर अवधिभर जडान खर्च निःशुल्क रहनेछ र एफटीटीएच सेवा सुचारु गर्न आवश्यक फाइवर डीभाइस (वाईफाई सहित)को शुल्क २५ सय रुपैयाँ लाग्नेछ ।

शहरी सौर्य ऊर्जा कार्यक्रम : सोलार जडानमा २० हजार अनुदान र विनाधितो कर्जा

शहरी सौर्य ऊर्जा कार्यक्रम : सोलार जडानमा २० हजार अनुदान र विनाधितो कर्जा  http://www.abhiyan.com.np/new/Articles/view/85161 मदन लामिछाने

चालू आर्थिक वर्ष (आव) २०७३/७४ बाट शहरी सौर्य ऊर्जा कार्यक्रम थप प्रभावकारी बनाउन सरकार लागिपरेको छ । यसका लागि सरकारले सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशतसम्म दिने घोषणा गरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै वितरण गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, शहरी सौर्य ऊर्जा कार्यक्रमका प्रमुख अविनाश वरुणले जानकारी दिए । अघिल्लो आवको भन्दा यो आवको कार्यक्रममा धेरै व्यावहारिक पक्ष समेटिएकाले २५ सय सोलार वितरण गर्ने पनि उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा १५ हजार अनुदान पाउन ५ सय वाट क्षमताको सोलारका लागि २ लाख रुपैयाँभन्दा बढी लगानी गर्नुपथ्र्याे । यो वर्ष २ सय वाट क्षमताको सोलारका लागि ५० हजारदेखि ७५ हजार लगानी गर्दा २० हजार अनुदान पाउने व्यवस्था गरिएको छ ।
शहरी सौर्य ऊर्जा कार्यक्रम
शहरी सौर्य ऊर्जा कार्यक्रम सरकारले विद्युत् सेवा पुगेका ठाउँमा सौर्य ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरी लोडशेडिङ घटाउन सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याएको कार्यक्रम हो । यसमा सौर्य ऊर्जा जडान गर्दा लाग्ने खर्चमा २० हजार अनुदान दिने र कुल खर्चको ९० प्रतिशतसम्म कर्जा सापटी तथा ब्याजमा समेत ७५ प्रतिशतसम्म अनुदान दिने प्रावधान छ । घरायसी प्रयोजनका लागि ७५ प्रतिशत ब्याज तथा व्यावसायिक प्रयोजनमा ५० प्रतिशत ब्याज अनुदान पाइन्छ ।
कसरी पाइन्छ अनुदान ?
शहरी सौर्य ऊर्जा कार्यक्रमबाट अनुदान पाउन ग्राहकले कम्तीमा २ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । पहिले ५ सय वाट क्षमताको सोलार जडान गर्दा मात्र अनुदान पाइन्थ्यो । कर्जा लिन भने कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । व्यावसायिक प्रयोजनका लागि हो भने १ हजार ५ सय वाट क्षमताको सोलारमा मात्रै कर्जा सुविधा दिने कार्यक्रम प्रमुख वरुणले बताए । उनका अनुसार पहिले कर्जा १ सय वाट क्षमताको सोलार जडान गर्दा पनि अनुदान पाइन्थ्यो । त्यो प्रक्रिया झन्झटिलो भएकाले अहिले २ सय वाट क्षमताका लागि अनुदान दिइए पनि कर्जा भने ५ सय वाटभन्दा बढी क्षमताका लागि मात्रै दिने गरेको बताए । वैकल्पिक ऊर्जाकै परीक्षण विभाग (रेटस)ले परीक्षण गरी पास गरेका सामग्री मात्र व्यवसायीले विक्री गरी ग्राहकले पाउने अनुदानका लागि वैकल्पिक ऊर्जालाई सिफारिश गरिने बताइएको छ । ग्राहकले सरकारले तोकेका करीब ४ सय सोलार कम्पनीमध्ये जुनबाट सोलार उपकरण किने पनि उनीहरूले दिएको फर्म भरेर वैकल्पिक ऊर्जामा पठाउनुपर्छ । त्यसपछि मात्र अनुदान दिइने व्यवस्था छ । यसका लागि खरीदकर्ता भने शहरी सौर्य ऊर्जा कार्यक्रम लागू भएको ठाउँ अर्थात् विद्युत् लाइन जडान गरेको व्यक्ति वा फर्म हुनैपर्छ ।   
कसरी लिने कर्जा ?
वैकल्पिक ऊर्जाले नेपाल इन्भेष्टमेण्ट बैङ्क, एनएमबी बैङ्क, सिद्धार्थ बैङ्क, हिमालय बैङ्क र सिभिल बैङ्कसँग कर्जाका लागि सम्झौता गरेको छ । यो कर्जा लिन सोलार जडान गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि बिजुलीको बिल तिरेको रसिद र आयस्रोत खुल्ने कागज पत्र पेश गर्नुपर्छ । त्यसपछि भने बैङ्कले आयस्रोतलाई मुख्य आधार मानेर विनाधितो आवश्यक रकमको ९० प्रतिशतसम्म कर्जा ३ साताभित्र उपलब्ध गराउँछन् । कर्जा दिने वा नदिने भन्ने निर्णय भने बैङ्कले नै गर्छन् । कर्जा लिन घरायसी प्रयोजनका लागि कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ भने व्यावसायिक प्रयोजनका लागि १५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ ।   
२ सय वाट भनेको कति हो ?
२ सय वाट क्षमता भन्नाले कम्तीमा एउटा टीभी ५ घण्टा, १० ओटा बत्ती ७ घण्टा, एउटा ल्यापटप ३ घण्टा र एउटा राउटर ८ घण्टासम्म चलाउन पुग्ने भन्ने हुन्छ । २ सय वाट क्षमताको सोलार प्रणालीका लागि कम्पनीअनुसार ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म पर्छ । यसरी जडान  गरे २० हजार अनुदान पाउँदा ५५ हजार रुपैयाँमा यी सबै सुविधा लिन सकिने कार्यक्रम प्रमुख अविनाशले बताए ।


विद्युत् नियमावली संशोधन, सय मेगावाटसम्मको विद्युत् लाइसेन्स अब विभागबाटै

विद्युत्  नियमावली संशोधन, सय मेगावाटसम्मको विद्युत् लाइसेन्स अब विभागबाटै

    supervisor_accountभीम गौतम http://www.karobardaily.com

काठमाडौं : जलविद्युत्को एक सय मेगावाटसम्मको अनुमतिपत्र (लाइसेन्स) अब विद्युत् विकास विभागबाट दिने गरी नियमावली संशोधन गरिएको छ । विद्युत् नियमावली २०५० को चौथोे संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । 
ऊर्जा मन्त्रालयले लाइसेन्ससम्बन्धी व्यवस्था संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेसँगै अब विभागले एक सय मेगावाटसम्मको लाइसेन्स विभागबाटै दिन पाउने भएको हो ।
यसअघि एक सय मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्सका लागि ऊर्जा सचिवस्तरबाटै निर्णय हुनुपर्ने व्यवस्था थियो ।
“एक सय मेगावाटसम्म विद्युत् विकास विभागबाटै लाइसेन्स दिनसक्ने गरी नियमावलीमा परिवर्तन गरिएको छ, अब एक सय मेगावाटसम्मको लाइसेन्स विभागले सिधै दिन सक्छ,” ऊर्जा मन्त्रालयका सह–सचिव कौशलचन्द्र सुवेदीले भने ।
यसअघि ०६८, ०६९ र ०७२ मा समेत जलविद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी व्यवस्थाको संशोधन भएको थियो । 
जलविद्युत् प्रवद्र्धकहरूले निवेदन दिएपछि विद्युत् विकास विभागबाट मन्त्रालय हुँदै फेरि विभागबाट लाइसेन्स दिँदा लामो समय लाग्ने र अनेक प्रक्रियागत झन्झट बेहोर्नुपर्ने कारण देखाउँदै नियमावलीमा संशोधन अघि बढाइएको सह–सचिव सुवेदीले जानकारी दिए ।
विद्युत् विकास विभागमा लाइसेन्सका लागि कुनै प्रवद्र्धकले निवेदन दिएपछि त्यहाँ विभिन्न शाखा हुँदै ऊर्जा मन्त्रालयका सम्बन्धित शाखा, सहसचिव, ऊर्जासचिव, कानुन उपसचिव र सहसचिव हुँदै फेरि ऊर्जासचिवसम्म फाइल पुगेर सदर भई पुनः विद्युत् विभाग पुग्नुपर्ने लामो प्रक्रियागत झन्झट थियो ।
नयाँ व्यवस्थाअनुसार, बहुउद्देश्यीय र जलाशययुक्त बाहेक एक सय मेगावाटसम्मको जलविद्युत्् लाइसेन्स दिने अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिइएको छ ।
अब महानिर्देशकले जलविद्युत् लाइसेन्स वितरणदेखि खारेजीसम्मको अधिकार प्रयोग गर्न सक्नेछन् । लाइसेन्सको संशोधनपछि अन्य महत्वपूर्ण काममा सहभागी हुनुपर्ने ऊर्जा मन्त्रालयको कार्यबोझ धेरै घट्ने अनुमान छ ।
हाल १ सय २० दिनभित्र पाउनुपर्ने लाइसेन्सका लागि ४/५ वर्षसम्म लागेको भन्दै जलविद्युत् प्रवद्र्धकहरूले प्रक्रिया छोट्याउन माग गर्दै आएका थिए । उनीहरूले संशोधनले लाइसेन्स लिनका लागि मन्त्रालयसम्म धाउनुपर्ने र विभिन्न व्यक्तिलाई खुसी बनाउनुर्ने अवस्थाबाट केही हदसम्म मुक्ति पाएको बताएका छन् ।
तर, विद्युत् विभागका अधिकारीहरू विद्युत् प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) बारेको हालको व्यवस्था संशोधन नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन नहुने उनीहरूको तर्क छ । 
विद्युत् विकास विभागले हालसम्म ३२ सय १० मेगावाटका १ सय १४ आयोजना निर्माणको अनुमतिपत्र लिइसकेका छ्न भने ५७ सय ७५ मेगावाटका ६६ आयोजनाले उत्पादन अनुमतिपत्रका लागि आवेदन दिइसकेका छन् ।

 

नक्कली भनिएका चिकित्सकलाई अदालतले सफाइ दियो

नक्कली भनिएका चिकित्सकलाई अदालतले सफाइ दियो

क्रान्ति शाह बिहीबार, असोज ६, २०७३http://www.annapurnapost.com/news/56061

वीरगन्जः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेर ठगी मुद्धा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ ।
पर्सा जिल्ला अदालतले ठगी मु्द्धा चलाइएका चिकित्सकलाई बुधबार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको फैसला गरेका छन् ।
‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार पनि नभएको र ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ अदालतका श्रेस्तेदार ठाकुर प्रसाद खरेलले भने, ‘अदालतले ठगी गरेको प्रमाण फेला नपारेपछि सफाइ दिएको हो ।
उनले अदालतको फैसला पछि आठै जना चिकित्सक बुधबार नै धरौटी बापत आफूले जम्मा गरेको रकम बुझेर घर फर्किएका छन् । 
पर्सा जिल्ला अदालतमा बुधबार दिउँसो भएको बहमा प्रतिवादी चिकित्सकको तर्फबाट कानुन व्यावसायी सुधीर कर्ण, प्रमोद साह, रामनारायण कुर्मी र हरिकृष्ण अधिकारीले बहस पैरवी गरेका थिए । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता सूर्यप्रसाद सुवेदीले बहस गरेको अदालतका श्रेस्तेदार खरेलले जानकारी दिए । 
चिकित्सकमाथि दायर गरिएको ठगी मुद्दामा पर्सा जिल्ला अदालतले शैक्षिक प्रमाणपत्र पुनःप्रमाणीकरण गर्न सिआइबी, उच्च मावि शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिललाई दुई पटक पत्रचार गरेर बोलाएको थियो । तर, सिआइबी समेतको तीन वटै टोली अदालतमा पुनः प्रमाणीकरणका लागि नआएपछि पर्सा जिल्ला अदालतले कसुर प्रमाणित हुने आधार नभएको भन्दै आठै डाक्टरलाई बुधबार सफाइ दिएकोे हो ।
सिआइबीको टोलीले असार ३ गते वीरगन्जको नारायणी उपक्षेत्रीय, नेशनल मेडिकल कलेज र निजी क्लिीनमा छापा मारेर डा.कुशराज गिरी, डा.सरोज सिंह, डा.पन्नालाल पटेल, डा.दिनेशकुमार साह तेली, डा. निमेशपाल रमण, डा. रामकुमार प्रधान, डा.इर्शादुल हक र डा.मोहम्मद रहुल्लाहलाई पक्रेर काठमाडाँै लगेको थियो । 
असार १७ गते सिआइबीले मिसिलसहित चिकित्सकलाई ठगी गरेको सम्बन्धी मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएपछि पर्सा प्रहरीले असार १९ गते डाक्टरविरुद्ध जिल्ला अदालत पर्सामा ठगी मुद्धा दर्ता गरेको थियो  । भारत बिहारबाट प्रवीणताप्रमाण पत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर डाक्टरी पढेको आरोप लगाउदै आठ डाक्टरलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।
त्यसपछि गत असार २० गते पर्सा जिल्ला अदालतको आदेश अनुसार डाक्टर मोहम्मद रहुल्लाह ३५ लाख,  डाक्टर दिनेश साह तेली १८ लाख , डाक्टर पन्नालाल पटेल १५ लाख ,डाक्टर सरोज कुमार सिंह १० लाख, डाक्टर राम कुमार प्रधान सात लाख ७५ हजार, डाक्टर कुशराज गिरी चार लाख, डाक्टर इर्शादुल हक तीन लाख ७५ हजार र डाक्टर निमेश रमन पाल दुइ लाख रुपैया धरौटी तिरेर रिहा भएका थिए । रिहा भएकै दिनदेखि आठै जना डाक्टर आ आफनो काममा फर्किएका छन् । 
सिआइबीका डिएसपी ज्ञानेन्द्र फुयाँलले भने आवश्यक अनुसन्धान गरेरै पर्सा जिल्ला अदालतमा आठ जना चिकित्सकलाई बुझाएको बताए । उनले भने ,‘सिआइबीले अनुसन्धान गरेरै ठगी मुद्धा दर्ता गराएको हा , न्यायिक निर्णयमा हामीले टिप्पणी गर्न मिल्दैन ।

 

 

टीकापुर मुद्दा फिर्ता प्रकरण: गृहमन्त्री-आईजी चर्कियो विवाद

टीकापुर मुद्दा फिर्ता प्रकरण: गृहमन्त्री-आईजी चर्कियो विवाद

शम्भु कट्टेल शुक्रवार, असोज ७, २०७३  http://www.annapurnapost.com/news/56083


काठमाडौं: कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ । मधेस आन्दोलनका क्रममा टीकापुरमा दुइबर्से बालक र आठ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा झूटो भएको भन्दै गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि नेपाल प्रहरी नेतृत्वले त्यसको कडा प्रतिवाद र आलोचना गरेको छ ।
गृह र कानुन मन्त्रालयसाथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‌याएपछि गृहमन्त्री अहिले अप्ठ्यारोमा परेका छन् । मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाइएको मुद्दा फिर्ता लिने लिखित सहमति गरेपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । त्यही सहमतिका आधारमा मधेसी मोर्चाले झन्डै पाँच सय हाराहारीमा मुद्दा फिर्ता गर्नुपर्ने व्यक्तिहरूको नाम गृहमन्त्रीलाई बुझाएको थियो ।
सूचीमा हालै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भेटेका प्रहरीको खोजी सूचीमा रहेका सद्भावना पार्टीका स्थानीय नेता एवं टीकापुर प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार रेशम चौधरीसमेत छन् । मधेसी मोर्चाले सूची बुझाएका झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले बताएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्तो निर्णय नगर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए ।
महानिरीक्षक अर्यालले गृहमन्त्री निधिसँग गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिए प्रहरी संगठन र प्रहरीको कार्यशैलीमा असर पर्ने बताएको स्रोतले उल्लेख गरेको छ । महानिरीक्षकको सुझाव सुनेपछि असन्तुष्ट बनेका गृहमन्त्री निधिले राजनीतिक विषयवस्तु भएकाले राजनीतिक ढंगले सुल्झाउन जसरी पनि उनीहरूको मुद्दा फिर्ता गरिने बताए । जबाफमा महानिरीक्षक अर्यालले भने, 'हत्या गरिएका ती प्रहरीका पत्नीहरू आए भने के जबाफ दिनुहुन्छ ? म ती सेता लुगा लगाएका एकल महिलालाई तपाईंकोमा ल्याइदिन्छु ।'
महानिरीक्षकको भनाइबाट क्रुद्ध बनेका गृहमन्त्री निधिले, 'आन्दोलनकारी पनि मारिएका छन्, ती सबैको जिम्मा लिनुहुन्छ ? ' भन्दै महानिरीक्षक अर्याललाई प्रतिप्रश्न गरेको स्रोतले बताएको छ ।
गृह मन्त्रालयकै एक अधिकारीले पनि गृहमन्त्रीको मुद्दा फिर्ता लिने अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । 'गृहमन्त्रीज्यूले किन जघन्य अपराधका आरोपितहरूको मुद्दा फिर्ता लिने अभिव्यक्ति दिनुभएको हो', ती अधिकारीले भने, 'अदालती प्रक्रियामा रहेको मुद्दा फिर्ता लिन उहाँले भनेजस्तो सजिलो छैन ।'
ती अधिकारीले मुद्दा फिर्ता लिन भएको कठिनाइबारे गृहमन्त्रीलाईसमेत थाहा भएको बताए । 'मुद्दा फिर्ता लिन कठिनाइ छ भन्ने मन्त्रीज्यूलाई पनि राम्ररी थाहा छ । खै किन विवादित अभिव्यक्ति दिनुभएको हो ? ' ती अधिकारीले भने, 'उस्तै प्रकृतिका मुद्दा खेपिरहेकाहरूले मुद्दा फिर्ता गर्न माग राखे भने के गर्ने ? '
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको २०६९ वैशाख ४ गतेको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गर्दै 'नियतवस गरेको हत्या, राज्यविरुद्धको अपराध, युद्धअपराध, मानवअधिकार र क्रूर तथा अमानवीय प्रकृतिका मानवताविरुद्धको अपराध, संगठित अपराध, महिला एवं बालबालिकाविरुद्धको अपराध, जाति हत्या, सार्वजनिक हकविरुद्धको अपराधजस्ता अपराधमा जुनसुकै सौदा गरी मुद्दा फिर्ता लिने निर्णय नगर्नू', भनेको छ ।
सर्वोच्चले नैतिक पतन देखिने फौजदारी कसुरसँग सम्बन्धित मुद्दा फिर्ता लिन नमिल्ने ठहर पनि गरेको थियो ।सरकारले सर्वोच्चको फैसलाविपरीत जबर्जस्ती मुद्दा फिर्ता लिएमा संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा सजाय हुनसक्ने व्यवस्था छ । सोही धारामा सर्वोच्चको फैसला र आदेश सबैले मान्नुपर्ने बाध्यकारी प्रावधान छ ।
फौजदारी कानुनका ज्ञातासमेत रहेका वरिष्ठ अधिवक्ता लभकुमार मैनालीले गृहमन्त्री वा कसैले चाहँदैमा मुद्दा फिर्ता हुन नसक्ने बताए । उनले अन्नपूर्णसँग भने, 'कसैको मुद्दा फिर्ता लिन मिल्ने/नमिल्ने त अदालतले ठहर गर्ने हो । कसैको तजबिजमा गम्भीर प्रकृतिको मुद्दा फिर्ता हुँदैन ।'
गृहमन्त्रीसँगको पटकपटकको छलफलमा सामान्य मुद्दा चलाइएका व्यक्तिहरूको मुद्दा फिर्ता लिन सकिने तर हत्या आरोपित व्यक्तिहरूको मुद्दा कुनै हालतमा फिर्ता लिन नहुने अडानमा गृहकै अधिकारीहरू छन् । उनीहरूले गम्भीर प्रकृतिका मुद्दा फिर्ता नलिन गृहमन्त्री निधिलाई आग्रह र दवाव दिइरहेका छन् ।
गृह मन्त्री निधिले भने प्रहरी हत्यामा संलग्न अपराधिहरूलाई राजनीतिक मुद्दाको संज्ञा दिदै सर्वोच्चको आदेश, कानुनको विधी र प्रक्रिया मिच्दै अदालतमा विचराधिन मुद्दा फिर्ता लिइ छाडने तयारी र अठोट गरेको गृहस्रोत बताउँछ । निधिलाई गृहसचिव लोकदर्शन रेग्मीको साथ छ । मुद्दा फिर्ता लिन मधेसी मोर्चाको दिनहुँजसोको दबाब र आफ्नै सहकर्मीको हत्या गर्ने अपराधीको मुद्दा कुनै पनि राजनीतिक सहमतिको आवरणमा लिन नहुने प्रहरीको अडानपछि गृहमन्त्री निधि चेपुवामा परेका छन् ।
प्रधानमन्त्री बन्न मधेसी मोर्चासँग मुद्दा फिर्ता लिने विषयमा सहमति गरे पनि मुद्दा फिर्ता प्रधानमन्त्री दाहाललाई समेत टाउकोदुखाइको विषय बनेको छ । गृहमन्त्री निधिले गत शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग दसैंअघि नै मधेस आन्दोलनका क्रममा लगाइएका झूट्टा मुद्दा फिर्ता लिने बताएका थिए ।
प्रमुख प्रतिपक्षी एमाले, विभिन्न मानवअधिकार संघ/सङ्गठनले अदालतमा विचाराधीन मुद्दा तत्काल फिर्ता लिने भन्दै दिएको अभिव्यक्तिको चर्को विरोध गरेका छन् । सर्वोच्चको परमादेशमा पीडितलाई मुद्दा फिर्ताको सुनुवाइ प्रक्रियामा सहभागी गराउने र आफ्नो भनाइ राख्ने मौका दिनुपर्ने उल्लेख छ ।